काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमान्डु १९ ओभर १ बलमै १११ रनमा अलआउट भयो। टीमका सन्तोष यादवले सर्वाधिक २३ रन जोडे।
लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए। अब यो खेलको विजेताले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। आठ टोली सहभागी प्रतियोगितामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन्।
यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरिसकेको छ। दोस्रो संस्करणको एनपीएलको फाइनल आगामी शनिबार हुने तय भएको छ।






