काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालय (केयू) मा आज ३१औँ दीक्षान्त समारोह हुँदैछ। पहिलो चरणमा कुल २ हजार २ सय ९ विद्यार्थी दीक्षित हुँदैछन्, जस मध्ये १७ देशका १ सय ९६ विदेशी विद्यार्थी पनि सहभागी छन्।
समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सञ्चालन हुनेछ भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन पनि कार्यक्रममा सहभागी हुनेछन्। नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालय (जेएनयू) का उपकुलपति प्राध्यापक धुलिपुडी पण्डित प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै दीक्षान्त मन्तव्य दिने कार्यक्रम तय भएको काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले जानकारी दिएका छन्।
यस वर्ष केयूका स्कुल अफ आर्ट्स, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्सबाट गरी जम्मा २ हजार २ सय ९ विद्यार्थी दीक्षित हुने भएका हुन्। दीक्षितमध्ये विद्यावारिधी, डीएम र एमसीएच तहका ७, स्नातकोत्तर तहका ३९७, पीजीडी तहका ५० र स्नातक तहका १ हजार ७ सय २८ विद्यार्थी रहेका छन्। समारोह आज पहिलो चरणमा सम्पन्न हुँदैछ।






