काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल यात्रा सुनिश्चित गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रनको चुनौतीपूर्ण योगफल बनायो। सुदूरपश्चिमका विनोद भण्डारीले ६३ रनको उत्कृष्ट पारी खेले भने आरिफ शेख र शेल्डन ज्याक्सनले समान २०–२० रन योगदान दिए। विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले समान २–२ विकेट लिए।
जवाफमा १५७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको विराटनगर किङ्ग्स १४ ओभर १ बलमै ७८ रनमा अलआउट भयो। विराटनगरका तर्फबाट फाफ डु प्लेसिसले ३६ तथा मर्चेन्ट डे लाङ्गेले १५ रन बनाए। सुदूरपश्चिमका स्कट कुग्लेलिजन, हर्मित सिंह र अविनाश बोहराले समान २–२ विकेट लिँदै बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरे। हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले पनि १–१ विकेट हात पारे।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणमा शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको हो भने सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर दोस्रो स्थानबाट क्वालिफायरमा प्रवेश गरेको थियो। सुदूरपश्चिम गत संस्करणको उपविजेता टोली हो।
अब विराटनगर किङ्ग्सले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। दोस्रो क्वालिफायरमा उनीहरूले इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। इलिमिनेटर खेल भोलि दिउँसो ४ बजे काठमान्डु गोर्खाज (कप्तान: करण केसी) र लुम्बिनी लायन्स (कप्तान: रोहित पौडेल) बीच हुनेछ। सो खेलको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।
दोस्रो क्वालिफायर पर्सि दिउँसो ४ बजे हुँदैछ। यसैबीच, एनपीएलको दोस्रो संस्करणको फाइनल खेल आउँदो शनिबार दिउँसो साढे ३ बजे आयोजना हुने तय गरिएको छ।






