काठमाडौँ – आठौँ नेक्सस कप फुटबल प्रतियोगिता २०८२को दोस्रो दिन सम्पन्न भएका पाँच आकर्षक खेलसँगै आजका विजेता टिमहरू क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। मध्यपुर युथ एसोसिएशनको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक भिडन्तमा विद्यार्थी खेलाडीहरूले उत्कृष्ट कौशल, रणनीति र खेलभावना प्रस्तुत गरेका थिए।
आजका खेलहरूबाट लाइसियम प्याराडाइज, ग्रीनवीच एकेडेमी ए, वेदिक स्कुल, अर्किड प्युपल सेकेण्डरी स्कुल र एकलव्य सेकेण्डरी स्कुल विजयी हुँदै अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्। ती पाँच विजेता टिमसँगै हिजो भएको खेलमा विजयी नेक्सस एकेडेमी, कस्तुप एकेडेमी र नालान्दा स्कुल पनि क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका आयोजकले जानकारी दिएको छ।
फिफाका ‘लज अफ द गेम’ अनुसार सञ्चालन भइरहेको नकआउट आधारको प्रतियोगितामा उपत्यकाका प्रतिष्ठित विद्यालय–टिमहरूको सहभागिताले प्रतिस्पर्धालाई झनै रोमाञ्चक बनाएको छ। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक क्षमता, नेतृत्वकला, आत्मविश्वास तथा खेलभावनालाई सुदृढ बनाउने उद्देश्य बोकेको छ।
आठ टिमसहित अब क्वार्टरफाइनल चरणमा प्रवेश गरेपछि प्रतियोगिता अझ रोचक मोडमा पुगेको छ। भोलिदेखि हुने निस्कर्षात्मक खेलहरूले नेक्सस कपको प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्याउने नेक्सस् एकेडेमीका संस्थापक प्रिन्सिपल आरबी कटवालले बताउनुभयो ।






