५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता प्रकरणमा ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार दायर गरेको विस्तृत आरोपपत्रमा ठेक्का प्रक्रियादेखि लागत बढाइ राज्यलाई हानी पुगेको गम्भीर आरोप समावेश गरिएको छ।

आरोपपत्रअनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, तथा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतलाई प्रतिवादी बनाइएको छ। यस्तै, तत्कालीन पर्यटन मन्त्री स्व. पोष्टबहादुर बोगटीको निधन भइसकेकाले बिगो असुल–उपरको कानुनी प्रक्रिया अगाडि बढाउन उनकी श्रीमती राममाया बोगटीलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

विमानस्थल निर्माणको ठेक्का प्रक्रियामा अस्वाभाविक रूपमा लागत बढाई राज्यलाई हानी पुर्‍याएको अभियोगमा उक्त समूहबाट ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। मन्त्रीहरूबाहेक तत्कालीन सचिवहरू सुशिल घिमिरे, सुरेशमान श्रेष्ठ, रन्जनकृष्ण अर्याल सहित नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू तथा चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधि गरी कुल ५५ जनालाई प्रतिवादी बनाइएको छ।

अख्तियारले यस प्रकरणलाई हालसम्मको सर्वाधिक महत्वपूर्ण पूर्वाधार–सम्बन्धी भ्रष्टाचार अनुसन्धान मध्ये एक ठहर गर्दै, कानुनी प्रक्रियाअनुसार दोषी प्रमाणित भएकाविरुद्ध कडा कारबाही हुने स्पष्ट गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्