काठमाडौँ — अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गरेको अर्किड आइडल गायन प्रतियोगिताको सेमिफाइनल राउण्ड सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा सम्पन्न प्रारम्भिक छनोट (क्वालिफाइङ राउण्ड) मा सहभागिता जनाएका १०० मध्ये ७० जना उत्कृष्ट प्रतिभा दोस्रो चरणका लागि छनोट भएका थिए जसमा आइतबार सम्पन्न सेमिफाइनल राउण्डमा ती ७० प्रतिस्पर्धीबाट २५ जना प्रतिभा फाइनल राउण्डका लागि छनोट भएका छन्। निर्णायकहरूले पारदर्शी विधिबाट प्रदर्शन, स्वर, ताल, प्रस्तुति र कलात्मक अभिव्यक्तिका आधारमा मूल्याङ्कन गरेको विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष प्रतिस्पर्धा निकै चर्को र प्रभावकारी रहेको छ।
आजको सेमिफाइनल राउण्डका निर्णायक भ्वाइस अफ नेपालको टप ३ मा पर्न सफल गायक पबिन्द्र सुनार रहेका थिए। उहाँको उपस्थिति तथा मार्गदर्शनले विद्यार्थीको उत्साह झनै बढेको विद्यालयले जनाएको छ। प्रिन्सिपल सीबी कार्कीले अर्किड आइडल विद्यालयको गुणस्तरीय सह–शैक्षिक कार्यक्रमको प्रभावकारी उदाहरण भएको उल्लेख गर्दै, सहभागी सबै विद्यार्थीले देखाएको प्रतिबद्धता र लगनले विद्यालयको सिर्जनात्मक वातावरण अझ समृद्ध भएको बताउनुभयो।

विद्यालयका सञ्चालक निर्देशक प्रेमकुमार भुजेलले गायन प्रतियोगिताले विद्यार्थीको मञ्च प्रस्तुति क्षमता, अनुशासन र कलात्मक प्रतिभामा उल्लेखनीय सुधार ल्याइरहेको बताउनुभयो। “विद्यार्थीहरूको तयारी, आत्मविश्वास र प्रस्तुति यो वर्ष झनै उत्कृष्ट छ। यसले उनीहरूको संगीतप्रतिको लगाव बलियो बनेको छ,” उहाँले भन्नुभयो।
विद्यालयका अनुसार फाइनल राउण्ड भने २६ गते शुक्रबार भव्य रूपमा आयोजना गरिनेछ। गायन प्रतियोगिताको ११औं संस्करणले विद्यार्थीहरूको संगीतप्रतिकाे रुचि, प्रतिस्पर्धी भावना र सिर्जनात्मक प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको विद्यालयको भनाइ छ।






