काठमाडौँ – गोठाटारस्थित भीमेश्वर एकेडेमीको आयोजनामा भएको ‘छैटौँ भीमेश्वर कप अन्तर–विद्यालय कबड्डी प्रतियोगिता’ आज समापन भएको छ। दुई दिनसम्म चलेको प्रतियोगितामा छात्र तथा छात्रा दुवै समूहको उपाधि आयोजक भीमेश्वर एकेडेमीले हात पारेको छ ।
आज सम्पन्न फाइनल खेलमा छात्रातर्फ भीमेश्वर एकेडेमीले नेक्सस एकेडेमीलाई पराजित गर्दै उपाधि हात पारेको हो। त्यसैगरी छात्रतर्फ भीमेश्वर एकेडेमीले गणेश हिमाललाई हराउँदै दोस्रो उपाधि सुनिश्चित गर्यो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई ट्रफि, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा छात्रातर्फ द्वितीय नेक्सस् एकेडेमी भएको छ भने छात्रतर्फ गणेश हिमाल भएको छ । यसैगरी छात्रतर्फ तेस्रो स्थान अर्किड प्युपल सेकेण्डरी स्कुल र मोनाष्टिक पब्लिक स्कुलले प्राप्त गरेको छ भने छात्रातर्फ मोनाष्टिक पब्लिक स्कुल र कोटदेवी स्कुलले तेस्रो स्थान हात पारेको थियो ।
प्रथम र द्वितीय टिमलाई नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ भने तृतीय स्थान हासिल गर्ने दुई टिमलाई ट्रफि, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ। सहभागी सबै टिमलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको छ।
भीमेश्वर एकेडेमीका संस्थापक प्रिन्सिपल अमृतकुमार खड्काको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यमा प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार गरिएको थियो। उपत्यकाका १६ विभिन्न विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा छात्र–छात्र र छात्रा–छात्रा समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो।







