काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आफ्नो अन्तिम खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। चितवनले दिएको १ सय २१ रनको लक्ष्य पोखराले एडम रोसिङटनको ६५ तथा अर्जुन कुमालको अविजित ४३ रनको साहारामा १९ ओभर ४ बलमै २ विकेट गुमाई पूरा गर्यो।
चितवनका रिजन ढकाल र सैफ जैबले एक–एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले देव खनालको ४१ बलमा ३५ र अल्पेश रामजानीको २२ बलमा ३३ रनको योगदानमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। पोखराका धनञ्जय लक्षणले ३ विकेट लिए। दुवै टोली यसअघि नै क्वालिफायर समीकरणबाट बाहिरिसकेका थिए। आजैको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगर किङ्ग्स क्वालिफायरमा प्रवेश गरेको छ।
सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य विराटनगरले ११ ओभर ५ बलमै ५ विकेट गुमाएर भेटाउँदै नेट रनरेटमा काठमाडौँ गोर्खाजलाई पछि पार्दै शीर्ष–२मा स्थान बनायो। यससँगै क्वालिफायर तथा इलिमिनेटर समीकरण पूरा भएको छ, जसअनुसार शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानमा रहेको विराटनगरबीच क्वालिफायर खेलिनेछ भने तेस्रो स्थानको काठमाडौँ र चौथो स्थानको लुम्बिनी लायन्सबीच इलिमिनेटर हुनेछ।
लिग चरणको अन्तिम खेल भोलि दिउँसो साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ। गत मंसिर १ देखि सुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल यही २७ गते आयोजना हुनेछ, जसमा ८ टोली सहभागी छन्।






