काठमाडौँ – सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ। सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य विराटनगरले साम हिजलेटको ५१, फाफ डु प्लेसिसको ५० र मार्टिन गप्टिलको २२ रनको योगदानमा ५ विकेट गुमाएर ११ ओभर ५ बलमै भेटाउँदै नेट रनरेटमा काठमाडौँ गोर्खाजलाई पछि पारेर शीर्ष–२ मा स्थान बनायो।
सुदूरपश्चिमका अविनाश बोहराले २ विकेट लिए। प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो हार हो। अब पहिलो क्वालिफायरमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको विराटनगरबीच पुनः प्रतिस्पर्धा हुनेछ भने तेस्रो स्थानको काठमाडौँ र चौथो स्थानको लुम्बिनी लायन्सबीच इलिमिनेटर खेलिनेछ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ, हार्ने टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग खेल्नेछ। इलिमिनेटर विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।
लिग चरणको अन्तिम खेल भोलि साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ। गत मंसिर १ देखि सुरु भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ, जसमा ८ टोली सहभागी छन्।






