काठमाडौँ — तोकिएकै मितिमा चुनाव हुने/नहुने र सुरक्षाका विषयमा राजनीतिक दलहरू अझै सशंकित देखिएका बेला प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठकमा दलहरूले शान्ति–सुरक्षालाई प्राथमिकताका रूपमा उठाएका छन्। प्रधानमन्त्री कार्कीले भने तोकिएको मितिमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै सुरक्षा व्यवस्थाबारे ढुक्क रहन आग्रह गरिन्। बालुवाटारमा भएको निर्वाचनसम्बन्धी बहुपक्षीय छलफलमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, जसपा नेपाल र जनमत पार्टीका नेताहरूले प्रचार–प्रसार स्वतन्त्र रूपमा हुने वातावरण, मतदाताको भयरहित पहुँच र उम्मेदवारको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिए।
छलफलको सुरुवातमै निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगको तयारीबारे जानकारी गराउँदै २१ फागुनको निर्वाचन एकै चरणमा सम्भव बनाउन कार्यतालिकाअनुसार अघि बढिएको बताए। बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल तथा तीनै आयुक्तसहित आयोगका ७ प्रतिनिधि सहभागी थिए। यसअघिका बैठकहरूमा सुरक्षा चासो प्रमुख मुद्दा बनेपछि कार्कीले चारै सुरक्षा निकायका प्रमुखहरूलाई समेत बैठकमा आह्वान गरिएकी थिइन्, जहाँ गृहमन्त्री अर्याल र सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन सुरक्षाबारे विस्तृत ब्रिफिङ दिए। शपथपछि राष्ट्रपति र निर्वाचन आयोगलाई अघि सार्दै आएका प्रधानमन्त्री कार्की पछिल्लो समय दलहरूसँग प्रत्यक्ष संवादमा सक्रिय देखिएका छन्।
यहीक्रममा जेन–जी आन्दोलनपछिको संवेदनशील अवस्थामा दलसँग दुईपक्षीय संवाद गर्दै उनले शुक्रबार बहुपक्षीय छलफल गरेकी हुन्। कांग्रेसका तर्फबाट गगन थापा र पुष्पा भुसाल, एमालेबाट शंकर पोखरेल र महेश बर्तौला, नेकपाबाट शक्ति बस्नेत र प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोविता गौतम, राप्रपाबाट भुवन पाठक र राजेन्द्र गुरुङ, जसपाबाट प्रकाश अधिकारी तथा जनमतबाट नरेन्द्र चौधरी सहभागी थिए। दलहरूले मुख्य रूपमा तोकिएकै मितिमा भयरहित चुनाव हुनुपर्ने माग राखे भने कांग्रेसले निर्वाचनमा जाने निर्णय भइसकेकाले अब जिम्मेवारी सरकारको कोर्टमा रहेको धारणा राख्यो।
एमालेले सुरक्षा चुनौती, हतियारधारी समूहदेखि सुरक्षाकर्मीको मनोबलसम्मका प्रश्न उठाउँदै स्वतन्त्र वातावरणबारे चिन्ता व्यक्त गर्यो। नेकपाले प्रचार सुरु भइसकेकाले वातावरण निर्माण र दलहरूबीच सहमति–समन्वयमा ध्यान दिन सुझाव दियो। रास्वपाले आयोग र सुरक्षाप्रति अविश्वास नभएको तर सरकारको तयारीमा कुनै कमी नहोस् भनेको थियो, साथै विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था सम्बन्धी प्रश्न उठाए पनि ठोस जवाफ नआएको बतायो। राप्रपाले सधैं चुनावकै पक्षमा उभिने दोहोर्यायो। प्रधानमन्त्री कार्कीले दलले राखेका आशंकालाई सरकारले सामान्य रूपमा नलिने बताउँदै विभिन्न दृष्टिकोणबाट आएका सुझावले सुधार गर्न सहयोग पुग्ने उल्लेख गरिन्। सर्वोच्च अदालतमा रहेका रिटमा अन्तरिम आदेश नभएकाले अब सबै दल चुनाव तयारीमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
उनले मुलुकप्रतिको साझा दायित्व सम्झाउँदै जेन–जी आन्दोलनले देखाएको दिशाअनुसार देश अघि बढ्नुपर्ने, आयोग सक्रिय भएकाले अब ‘चुनाव हुन्छ कि हुँदैन’ होइन ‘कसरी सफल पार्ने’ भन्नेमा केन्द्रित हुनुपर्ने बताइन्। सुरक्षामा जनतै पहिलो कडी भएको उल्लेख गर्दै उनले, “हामी जेन–जी आन्दोलनबाट आएका हौँ, तर दलविरोधी होइनौँ; राजनीतिक दलहरूलाई स्थापित गर्न नै चुनाव आवश्यक हो,” भन्दै बैठकमा उपस्थित सबै दलसँग सहयोगको अपेक्षा व्यक्त गरिन्।






