नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले शानदार प्रदर्शन जारी राख्दै लगातार छैटौँ खेलमा विजय हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो। टीमका स्टार ओपनर क्रिस लिनले ७५ रनको उत्कृष्ट इनिङ्स खेले। त्यस्तै आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २४–२४ रन जोडे।
चितवनका बलरमध्ये सैफ जैबले २ विकेट, जबकि रञ्जित कुमार र जर्ज स्क्रिमशाले समान १–१ विकेट लिए।
जवाबमा १७.१ ओभरमै चितवन १२० रनमा समेटिँदा लक्ष्यबाट निकै टाढा रह्यो। चितवनका रवि बोपराले २९, र देव खनालले २८ रन बनाए।
सुदूरपश्चिमका बलर पुनीत मेहराले ३ विकेट, जबकि दीपेन्द्रसिंह ऐरी, हिकमत महरा, अविनाश बोहरा र इसान पाण्डेले समान १–१ विकेट लिए।
यस जितसँगै सुदूरपश्चिम रोयल्स लगातार छैटौँ खेलमा अपराजित रह्यो र १२ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत छ। उनीहरू यसअघि नै प्लेअफमा पुग्ने पहिलो टोली बनेका छन्। चितवन राइनोजका लागि भने प्लेअफको बाटो झनै कठिन बनेको छ। अब अन्तिम खेलमा पोखरालाई हराए मात्रै उनीहरूको झिनो आशा कायम रहनेछ। चितवन ६ खेलमा २ जित र ४ हारसहित ४ अंकमा छैटौँ स्थानमा छ।
आजै भएको पहिलो खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ।
आठ फ्रेन्चाइज टोली सहभागी दोस्रो संस्करणको एनपीएल यसै महिनाको २७ गतेसम्म चल्नेछ।






