काठमाडौँ – कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत दुई महत्वपूर्ण खेल हुँदैछन्। प्लेअफ प्रवेशका लागि निर्णायक मानिएका आजका खेलले शीर्ष–चारको चित्र झनै रोचक बन्ने संकेत गरेका छन्। पहिलो खेल बिहान ११:45 बजे काठमाण्डु गोर्खाज र पोखरा एभेञ्जर्सबीच हुनेछ। लिग चरणको अन्तिम खेल खेल्न लागेको काठमाण्डुले आज जित निकाल्न सके ‘प्लेअफ’मा स्थान सुनिश्चित गर्नेछ। ६ खेलमा ४ जित र ३ हारसहित ८ अंक जोडेको काठमाण्डु तालिकाको दोस्रो स्थानमा रहेको छ।
पोखरा एभेञ्जर्स पनि प्लेअफ दौडमै छ। ५ खेलमा २ जित र ३ हारले ४ अंक जोडेको पोखरा चौथो स्थानमा छ। आज काठमाण्डुलाई हराउँदै र आफ्नो अन्तिम खेलमा चितवन राइनोजलाई पराजित गर्न सके पोखरा प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउनेछ। दोस्रो खेल दिउँसो सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ। लगातार पाँच खेलमा जीत हासिल गरेको सुदूरपश्चिम रोयल्स १० अंकसहित अपराजित रहँदै प्लेअफमा पुग्ने पहिलो टोली बनिसकेको छ। शीर्ष स्थानमै रहेको सुदूरपश्चिमका लागि आजको खेल प्रतिष्ठाको बनेको छ।
चितवन राइनोज भने प्लेअफ समीकरणमा अझै जीवित छ। ५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोडेको चितवनले आज सुदूरपश्चिमलाई र आफ्नो अन्तिम खेलमा पोखरालाई हराउनै पर्ने बाध्यता छ। हिजोको खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ५ विकेटले हराउँदै प्लेअफ सम्भावना जोगाएको थियो। ६ खेलमा ३ जीत निकाल्दै लुम्बिनी ६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ। विराटनगर भने ६ खेलमा ४ जीतसहित ८ अंक बटुलेर तेस्रो स्थानमा रहेर अझै प्लेअफ दौडमै छ।
कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भने प्रतियोगिताबाट झिनो सम्भावना पनि टुंगिँदै प्लेअफ समीकरणबाट बाहिरिएका छन्। कर्णाली ६ खेलमा र जनकपुर ५ खेलमा समान २ अंकसहित तालिकाको सातौँ र आठौँ स्थानमा छन्। आठ फ्रेन्चाइज टोली सहभागी रहेको एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु भएर मंसिर २७ गतेसम्म चल्नेछ। आजका खेलपछि प्लेअफको चित्र झनै स्पष्ट हुने अपेक्षा गरिएको छ।






