काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले सुनाएको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। आयोगले विशेष अदालतले पूर्व पर्यटन मन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीसहित केही प्रतिवादीलाई सफाइ दिएको तथा दोषी ठहरित प्रतिवादीहरूलाई पनि कम सजाय तोकेको निर्णय चित्त नबुझेको जनाएको छ।
नेपाल वायुसेवा निगमका लागि दुईवटा वाइडबडी विमान खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले यसअघि दायर गरेको मुद्दामा विशेष अदालतले गत वर्ष फैसला सुनाएको थियो। अदालतले केही व्यक्तिलाई दोषी ठहर गरे पनि दाबीअनुसारको बिगो निर्धारण र सजाय पर्याप्त नभएको तथा जीवनबहादुर शाहीलगायत केही प्रतिवादीलाई सफाइ दिएको भन्दै अख्तियार पुनराय सर्वोच्च अदालत पुगेको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा विमानको भारवहन क्षमता र मूल्य वृद्धिका नाममा बदनियतपूर्ण रूपमा रकम भुक्तानी गरी भ्रष्टाचार भएको स्पष्ट देखिएको भन्दै विशेष अदालतको फैसला परिवर्तित हुनुपर्ने माग गरिएको छ।






