काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले उत्कृष्ट खेल प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले हराएको छ। चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमै ४ विकेटको क्षतिमा सहजै पूरा गर्यो। जनकपुरका अनिल शाह र माज सदाकत विजयी खेलका हिरो बने। सदाकतले ६३ रनको दमदार पारी खेले भने शाहले ६१ रन जोडे। चितवनका सोहिल तन्विर, कमलसिंह ऐरी र अमरसिंह रौटेलाले एक–एक विकेट लिएका छन्।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रनको प्रतिस्पर्धात्मक लक्ष्य राखेको थियो। चितवनका डेविड मलान ८० रन जोड्दै सर्वाधिक स्कोरर बने भने अर्जुन साउदले ५२ रनको अर्धशतकीय योगदान गरे। पाँच खेलमध्ये पहिलो जित हात पारेपछि जनकपुर बोल्ट्स तालिकाको सातौँ स्थानमा उक्लिएको छ। अब उसले ‘प्लेअफ’ मा पुग्ने गणितीय सम्भावना कायम राखेको छ। पाँचमध्ये दुई खेल जितेको चितवन चौथो स्थानमा छ।
प्रतियोगिताको दोस्रो खेल आज दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच हुँदैछ। मंसिर १ गतेदेखि सुरू भएको एनपीएल २७ गतेसम्म चल्नेछ।






