काठमाडौँ – सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।
परमादेशमा भनिएको छ
मुख्यमन्त्री नियुक्तिको विषय लम्बिन नहुने र तत्काल संवैधानिक प्रक्रिया अघि बढाउनुपर्ने भएकाले आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेस गरी निर्णयार्थ अघि बढाउनू। विश्वासको मत प्राप्त भएमा कार्यसंचालन जारी गर्ने, प्राप्त नगरेमा संविधानको धारा १६८(२) बमोजिम अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्नू।
यसअघि कात्तिक २४ गते, नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता यादवलाई असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको आरोपसहित सर्वोच्चमा रिट दायर भएको थियो। प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८(२) अनुसारको प्रक्रिया नअपनाई १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेको भन्दै अर्जुन साहले रिट दर्ता गराएका थिए।
रिटमा नेपालको संविधानको धारा १३३(२) बमोजिम उत्प्रेषण आदेश जारी गरी प्रदेश प्रमुखको निर्णय बदर गर्न र संवैधानिक प्रक्रियाअनुसार नयाँ सरकार गठनको बाटो खोल्न माग गरिएको थियो। यसैबिच, सर्वोच्चले यसअघि मंसिर २ गते सरकारलाई दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश पनि दिएको थियो।






