काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मधुमेह र पिसाब संक्रमणबाट स्वास्थ्य अवस्था लगातार गम्भीर बन्दै गएपछि चिकित्सकहरूले पिसाबको संक्रमण शरीरभरि फैलिएको जानकारी दिएका थिए।
रामनारायण शाहलाई आइतबार बिहान बेहोसी अवस्थामा नै परिवारले अस्पताल पुर्याएका थिए। एक सातादेखि नै बिरामी रहेका उनको अवस्था सुधार नआएपछि अन्ततः निधन भएको अस्पताल स्रोतले जनाएको छ। मेयर बालेन शाहलाई पितृशोक परेको समाचार सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेकी थिइन्। उनले शाह परिवारसँग संवेदना व्यक्त गर्दै भेन्टिलेटरमा उपचाररत अन्य बिरामीको पनि अवस्था बुझेको स्रोतले जनाएको छ।






