कांग्रेस भोलिको केन्द्रीय समिति बैठकबाट १५औं महाधिवेशन कार्यतालिका ल्याउने तयारी

काठमाडौं — नेपाली कांग्रेसले भोलि सानेपामा बस्ने केन्द्रीय समिति बैठकबाट पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ। सोमबार दिउँसो २ बजे बस्ने बैठकमा नियमित महाधिवेशनको तिथि–मिति टुंग्याउने प्रबल सम्भावना रहेको नेताहरूले जनाएका छन्।

असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्न नसकेपछि निरन्तर स्थगित हुँदै अनौपचारिक छलफलले गति लिइरहेको थियो। पछिल्ला दिनमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले समन्वयकारी भूमिका निभाउँदै चुनावअघि महाधिवेशन गर्ने दिशामा सहमति जुटाउन प्रयास गर्दै आएका छन्। शीर्ष तहमा फागुन २१ को निर्वाचनभन्दा अघि नै महाधिवेशन गर्नेबारे लगभग सहमति बनेको बताइएको छ।

तर पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने सो निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका छन्।

महाधिवेशन कार्यतालिका पुसभित्रै ल्याउने तयारी

प्रवक्ता प्रकाशशरण महतका अनुसार, कार्यवाहक सभापति खड्कासहितको समूहले पुसभित्रै नियमित महाधिवेशन गर्ने लक्ष्यसहित गृहकार्य पूरा गरेको छ। सभापति देउवाले पनि चार दिनयता निवासमै नेताहरूसँग अनौपचारिक रूपमा छलफल गर्दै सहमति जुटाउने प्रयास गरिरहेका थिए।

तर देउवा पक्षका केही केन्द्रीय सदस्यहरूले आज बानेश्वरमा भेला गरी चुनावअघि महाधिवेशन गर्न समय अभाव हुने भन्दै विरोध जनाएका छन्।

पुस अन्तिम साता महाधिवेशन गर्ने प्राथमिक सहमति

सभापति, कार्यवाहक सभापति, दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, र केन्द्रीय सदस्य रमेश लेखकलगायतले पुस अन्तिम सातासम्म १५औं महाधिवेशन सम्पन्न गर्ने सहमति तयार पारेका छन्।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए। त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था अनुसार पुस २८ गते समयसीमा पुग्दैछ। यही परिस्थितिमा पार्टी भित्रै उठेका दबाबहरूलाई सम्बोधन गर्दै भोलिको बैठकबाट नियमित महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस शीर्ष नेताहरूको तयारी देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्