काठमाडौं — राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गते हुने भनिएको निर्वाचन नहुने दाबी गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले निर्वाचन प्रक्रिया स्वतःरूपमा रोकिने वातावरण देखिएको दाबी गर्दै अहिलेको सरकारलाई ‘पूर्वतिरकै जस्तै भ्रष्टाचारग्रस्त’ भएको आरोप लगाए।
प्रसाईंले सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूको प्रवृत्तिमा सुधार नआएको बताउँदै पूर्व सरकारहरूसँग कुनै फरक नदेखिएको जिकिर गरे। साथै उनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई सरकारी जग्गा मिचेको आरोप लगाउँदै भ्रष्टाचारविरुद्धको नेतृत्वको नैतिकतामाथि प्रश्न उठाए। आफूले भने कुनै अनियमितता नगरेको दाबी उनले दोहोर्याए।
प्रसाईंले मंसिर २२ गते प्रधानमन्त्री कार्कीसँग औपचारिक भेट वार्ता हुने जानकारी दिँदै आफ्ना मागहरूमध्ये सरकारले आधामात्र सम्बोधन गर्ने सम्भावना देखिएको बताए। माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिंदै उनले उठाएका मागहरू ‘जायज र जनभावनाअनुकूल’ रहेको दाबी गरे।






