काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सघाउन एमालेसँग आग्रह गर्नुभएको छ । एमाले महासचिव शंकर पोखरेलसहितका नेतासँग हिजो बसेको भेटवार्तामा प्रधानमन्त्रीले चुनाव गराउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै सहयोगको अपेक्षा व्यक्त गर्नुभएको हो ।
जवाफमा एमाले पक्षले चुनावका लागि आवश्यक पूर्वाधार र वातावरण अझै सहज नभएको उल्लेख गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । वार्तामा सहभागी विघटित प्रतिनिधिसभाका एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले कारागारबाट भागेका कैदीबन्दी, लुटिएका हतियार फिर्ता नआउनु, र सुरक्षा व्यवस्थामा कमजोरी देखिनुजस्ता घटनाले निर्वाचन प्रक्रियामा प्रभाव पर्न सक्ने बताएका छन् ।
एमाले नेताहरूले आफूहरूले चुनावको विरोध गरेको होइन, तर निष्पक्ष, सुरक्षित र सहज वातावरण आवश्यक रहेको स्पष्ट पारेका छन् । सेवानिवृत्त भएलगत्तै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई स्थान हद तोकिएको विषय, फरार अभियुक्तहरू नपकडिनु, र लुटिएका हतियार नफर्किनुजस्ता घटनाहरूले चुनावी माहोलमा प्रश्न उठाएको एमालेको धारणा छ ।
भेटवार्ता सकारात्मक रुपमा सम्पन्न भए पनि एमालेले उठाएको सुरक्षा र शान्तिसम्बन्धी चिन्ताहरू सम्बोधन गर्नु चुनाव सफलतापूर्वक सम्पन्न गर्न सरकारका लागि महत्वपूर्ण रहने देखिन्छ ।






