काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई महत्वपूर्ण खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच हुनेछ भने दोस्रो खेल अपराह्न ४ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच खेलिनेछ । चितवन र काठमाडौं दुवैले प्रतियोगितामा समानरूपमा दुई–दुई खेल जितेका छन् । चितवनले तीन खेलमध्ये दुई जित र एक हार व्यहोरेको छ भने काठमाडौंले चार खेलमध्ये दुई जित र दुई हार दर्ता गरेको छ । आजको पहिलो भिडन्त दुबै टोलीका लागि अंक तालिकामा माथि उक्लने अवसरको रूपमा हेरिएको छ ।
दोस्रो खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर किंग्स र पाँचौँ स्थानमा रहेको कर्णाली याक्स आमनेसामने हुँदैछन् । विराटनगरले अघिल्ला चार खेलमध्ये तीन खेलमा जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको छ । उसले पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो भने चितवनसँग ४८ रनले पराजित भएको थियो । कर्णाली याक्सले भने तीन खेलमध्ये एक जित मात्र निकाल्न सकेको छ । चितवनसँग हार ब्यहोरेपछि उसले लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो भने सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो ।
आज मैदान उत्रने चारै टिमका कप्तानको नेतृत्वमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन रहेको छ । काठमाडौं गोर्खाजको कप्तानी करण केसीले गरिरहेका छन् भने चितवन राइनोजको नेतृत्व कुशल मल्लले गरिरहेका छन् । यस्तै विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र कर्णाली याक्सका कप्तान सोमपाल कामी रहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडी समावेश भएकाले आजका दुवै खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।






