रवि र छविको मुद्दामा आज तोकिएको सुनुवाइ फेरि स्थगित

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज तोकिएको सुनुवाइ फेरि स्थगित भएको छ। रवि लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा सुनुवाइ स्थगित गरिएको हो। आजको पेसी न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासमा तोकिएको थियो।

यसअघि मंसिर ५ गते पनि निवेदक पक्षका कानुन व्यवसायीले समय मागेपछि सुनुवाइ स्थगित भएको थियो।

मुद्दा हाल उच्च अदालत तुलसीपुर बुटवल इजलासमा चलिरहेको छ। यसअघि त्यही इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश दिएका थिए।

रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ। चार भागमा विभाजन गरिएको बिगोमध्ये लामिछानेले आफ्नो भागअनुसार २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत पेश गरे पनि जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो। जोशीले पनि जमानत पेस गरेका थिए।

दुवै प्रतिवादीका हकमा कुल बिगो कुन भागमा पर्छ भन्ने स्पष्ट नभएकाले रिहा गर्न नमिल्ने आदेश भएको उच्च अदालतले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्