काठमाडौँ — मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा दुवै रिटमाथि सुनुवाइ हुनेछ।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयमा असन्तुष्टि जनाउँदै काठमाडौँ महानगरपालिका–११ बस्ने अर्जुन शाहले कात्तिक २४ गते रिट निवेदन दायर गरेका थिए। त्यसपछि कात्तिक २५ गते प्रदेश सभा सदस्यहरूका तर्फबाट कृष्णप्रसाद यादवसहितले अर्को रिट निवेदन दर्ता गराएका थिए।
रिट निवेदकहरूले दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार गठन हुने अवस्था कायम हुँदाहुँदै तत्कालीन प्रदेश प्रमुखले प्रदेशसभाको सबैभन्दा ठूलो दलका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नु संविधानको मर्म विपरीत रहेको दाबी गरेका छन्।
दुवै रिट निवेदनमाथि न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ।






