जनकपुरधाम – त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको धार्मिक विश्वासानुसार आज देशभर विशेष पूजा–आराधनासहित विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भने राम–सीताको विवाहको स्मरणमा आज भव्य विवाह महोत्सव विधिपूर्वक सञ्चालन भइरहेको छ।
गोस्वामी तुलसीदासद्वारा वर्णित रामायणका अनुसार जनकनन्दनी सीताको विवाह दिवसलाई मिथिलावासीहरूले अत्यन्त श्रद्धा र उत्साहका साथ पर्वको रूपमा मनाउँदै आएका छन्। धार्मिक मान्यताअनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले राखेको सीताको स्वयंवरमा शिवधनुष उठाएर तीन टुक्रा पार्दै अयोध्याका राजा दशरथका जेठा पुत्र रामले सीताको वरण गरेका थिए।
रामायणमा उल्लेख भएअनुसार उक्त ऐतिहासिक स्वयंवरमा ५६ कोटी देवताहरूको उपस्थिति रहेको विश्वास गरिन्छ। सीतालाई छोरी–बहिनीको रूपमा मान्ने मिथिलावासीहरू अदृश्य रूपमा देवी–देवताको सहभागिता हुने आस्थाका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेको सम्पूर्ण संस्कारमा उत्साहपूर्वक सहभागी भइरहेका छन्।
महोत्सवको सिलसिलामा मिथिलाको प्राचीन परम्पराअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिन्छ। आज हुने विशेष शोभायात्राअन्तर्गत भगवान् रामको प्रतिमालाई राम मन्दिरबाट बाजागाजा र कलात्मक झाँकीसहित डोला सिंहासनमा राखेर रङ्गभूमितर्फ ल्याइन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा राखी रङ्गभूमिमा पुर्याइन्छ।
रङ्गभूमिमा स्वयंवर र वैवाहिक वैदिक विधि सम्पन्न भएपछि राम–सीतालाई पुनः जानकी मन्दिर लगेर मिथिलाली संस्कारअनुसार विवाह सम्पन्न गरिन्छ। यस अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थान तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तहरूको सहभागिता रहने गरेको छ।
धार्मिक आस्था, सांस्कृतिक महत्त्व र ऐतिहासिक पहिचानको संरक्षणमा यस पर्वको योगदान उल्लेखनीय रहँदै आएको छ। विवाह पञ्चमी मिथिला क्षेत्रमा मात्र सीमित नभई नेपाल–भारतसहित विश्वभर रहेका हिन्दू समुदायबीच महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै आएको छ।






