काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा प्रवेश गरेका छन्। उनी अनिवार्य अवकाशमा गएसँगै सरकारले सोमबार सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ।
वि.सं. २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदामा मुख्यसचिवका रूपमा नियुक्त भएका एकनारायण अर्यालले कार्यकालभरि देशको शासकीय मामिला, विकास व्यवस्थापन तथा सेवा प्रवाह सुधारमा महत्वपूर्ण काम भएको दाबी गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नीतिगत तथा कानुनी सुधारको नेतृत्व र सहजीकरणमार्फत सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणमा देखिएको ढिलासुस्ती हटाउन अर्यालले ठोस भूमिका निर्वाह गरेका थिए। जेनजी आन्दोलन व्यवस्थापनदेखि विभिन्न पक्षसँग वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति तथा स्थायित्व कायम गर्न समेत उनले नेतृत्व प्रदान गरेका थिए।
उनको कार्यकालमा अनुपयुक्त कार्यविधि र मापदण्ड खारेजी, सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्राधिकरण गठन, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधार योजना निर्माण तथा कार्यान्वयन, साथै पहिलोपटक ‘सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस’ मनाउने निर्णयसमेत गरिएको थियो।
त्यस्तै, सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममा रुपान्तरण गर्ने क्रममा सबै सेवाको आधार राष्ट्रिय परिचयपत्रलाई बनाइने व्यवस्था अघि बढाइएको थियो। राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा सेवाको प्राप्ति तथा उपयोग गर्न सकिने प्रणाली कार्यान्वयनमा उनले प्राथमिकता दिए।
अर्यालको नेतृत्वमा अन्तर्राष्ट्रिय सहभागितासहितको ‘सगरमाथा संवाद’ सहजीकरण, ‘नीति प्रयोगशाला’ अवधारणाको विकास तथा कार्यान्वयनमा पनि जोड दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
सरकारले अब सुमन अर्यालको नेतृत्वमा प्रशासनिक सुधार तथा सार्वजनिक सेवा प्रवाहमा निरन्तरता र थप प्रभावकारिताको अपेक्षा गरेको बताइएको छ।






