काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन हालसम्म ५६ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन तयारीलाई तीव्रता दिँदै प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले पनि हिजो औपचारिक रूपमा दल दर्ताका लागि निवेदन प्रस्तुत गरेको छ।
निर्वाचन आयोगले दल दर्ताका लागि पर्सि १० गतेसम्म निवेदन दिन दलहरूलाई आग्रह गरेको छ। आयोगको कार्यसूचीअनुसार ११ गतेदेखि १८ गतेसम्म प्राप्त निवेदनहरूको छानबिन गरिनेछ भने मंसिर २० गते दर्ता भइसकेका दलहरूको नामावली प्रकाशन गरिनेछ।
हालसम्म आयोगमा १ सय ३२ दल दर्ता रहेका छन्। तीमध्ये १५ नयाँ दल रहेको आयोगले जनाएको छ। साथै, थप २५ नयाँ दल दर्ता गर्ने प्रक्रिया आयोगमा चलिरहेको छ। कानुनअनुसार आयोगमा दर्ता भइसकेका दलहरूले पनि आगामी चुनावमा भाग लिन पुनः दल दर्ता गर्नु अनिवार्य छ।
निर्वाचन नजिकिँदै जाँदा दल दर्ता प्रक्रिया तीव्र बन्दै गएसँगै राजनीतिक वातावरण चुनावमय बन्दै गएको छ।







