काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव सफल बनाउन सबै पक्षलाई सक्रिय भूमिका निभाउन आह्वान गरेका छन्। पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ती समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उहाँले देशका लागि यो चुनाव अपरिहार्य मोडको रूपमा रहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले देश हाल ‘विषम परिस्थितिबाट गुज्रिरहेको’ उल्लेख गर्दै संविधान, लोकतन्त्र र राष्ट्रिय हित जोगाउनकै लागि चुनावको मिति घोषणा गरिएको स्पष्ट पारे। “प्रतिनिधिसभाको चुनाव देश, लोकतन्त्र र आम नागरिकको भावना अनुरूप अनिवार्य छ,” भन्दै उहाँले चुनावमार्फत नै देशले निकास प्राप्त गर्ने विश्वास व्यक्त गरे।
आगामी जनादेशले सुशासन, विकास र समृद्धिको यात्रालाई मजबुत बनाउने ठहर गर्दै राष्ट्रपति पौडेलले सबै सरोकारवाला पक्षलाई जिम्मेवार र सचेत भई चुनाव सफल बनाउनेतर्फ भूमिका निर्वाह गर्न आग्रह गरे। त्यसैगरी, शिक्षाको गुणस्तर र प्रभावकारिता बढाउन व्यावहारिक ज्ञान, नैतिक शिक्षा र सीप अभिवृद्धिमा केन्द्रित शिक्षालाई अब्बल बनाउनुपर्ने आवश्यकता पनि उनले औँल्याए।






