एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुने

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच रोमाञ्चक भिडन्त हुने भएको छ। लिगको समीकरणलाई प्रभाव पार्ने मानिएको यस प्रतियोगितामा दुबै टोली उच्च मनोबलका साथ मैदान उत्रिँदैछन्।

सुदूरपश्चिम रोयल्सले आजको खेलमार्फत प्रतियोगिताको दोस्रो जित दर्ता गर्ने लक्ष्य लिएको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको टोलीले बलियो ब्याटिङ–बलिङ संयोजनसहित प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। विदेशी खेलाडी जोश ब्राउन र स्कट कुग्गेल्जिनको उपस्थिति रोयल्सको शक्ति बनेको छ भने इशान पाण्डे, हेमन्त धामी, अविनाश बोहरा र विनोद भण्डारी जस्ता घरेलु खेलाडीबाट टिमले प्रभावशाली प्रदर्शनको अपेक्षा गरिएको छ।

उता, पोखरा एभेन्जर्स आज पहिलो जित हात पार्न प्रतिबद्ध देखिन्छ। कप्तान कुशल भुर्तेलको नेतृत्वमा रहेको टोली आक्रामक योजनासहित मैदान प्रवेश गर्नेछ। अकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङटनसमेत समावेश टोलीले रोयल्सलाई कडा चुनौती दिन सक्ने अनुमान गरिएको छ।

लिगमा हिजो सम्पन्न खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेसँगै अंक तालिका थप प्रतिस्पर्धात्मक बनेको छ। आजको खेलले दोस्रो चरणको समीकरणलाई झनै रोचक बनाउने अपेक्षा गरिएको छ। समर्थकहरूले कीर्तिपुर मैदानमा आज उच्चस्तरीय प्रतिस्पर्धा हेर्ने आशा राखेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्