काठमाडौं । भारतको बिहार राज्यमा पुनः नितिशकुमार नै मुख्यमन्त्री बन्ने निश्चित भएको छ । बुधबार दिउँसो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले ७५ वर्षीय नितिशकुमारलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्दै सरकार गठनको नेतृत्व दिने निर्णय गरेको हो।
बैठकपछि नितिशकुमार राज्यपालसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राजभवन पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यससँगै नितिशकुमार १०औं पटक बिहारको मुख्यमन्त्री बन्न लागेका छन्।
शपथ ग्रहण समारोह बिहीबार बिहान ११:३० बजे पटनाको ऐतिहासिक गान्धी मैदानमा हुने तय गरिएको छ । सो समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, विभिन्न राज्यका मुख्यमन्त्री तथा केन्द्रीय मन्त्रीहरू समेत सहभागी हुनेछन् ।
यसअघि आजै एनडीएमा रहेका जनता दल युनाइटेड (जेडीयू) ले पनि नितिशकुमारलाई संसदीय दलको नेता चयन गरेको थियो । तर गठबन्धनकै अर्को ठूलो दल भारतीय जनता पार्टी (भाजपा) ले सम्राट चौधरीलाई संसदीय दलको नेता र विजय सिन्हालाई उपनेता बनाएको थियो । अन्ततः गठबन्धनको संयुक्त बैठकमा मुख्यमन्त्रीका रूपमा नितिशकुमारकै नाममा सहमति जुटाइएको हो।
हालै सम्पन्न बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनले २४३ मध्ये २०२ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको थियो। परिणामअनुसार भाजपा ८९ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ भने नितिशकुमारको जेडीयूले ८५ सिट जितेको छ। चिराग पासवान नेतृत्वको लोक जनशक्ति (राम विलास) ले १९ सिट, हिन्दुस्तानी अवम मोर्चाले ५ सिट र उपेन्द्र कुशवाहाको आरएलएमले ४ सिट हात पारेका छन्।
उता कंग्रेस आई र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित महागठबन्धन भने ३५ सिटमा मात्रै सीमित रह्यो।






