काठमाडौं । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत सञ्चालित ‘एमसीसी नेपाल’ ले थप ५ करोड अमेरिकी डलर (झन्डै ७ अर्ब रुपैयाँ) अनुदान पाउने भएको छ । नेपाल सरकार र अमेरिकी सरकारले बिहीबार यससम्बन्धी घोषणा गरेका छन् ।
थप अनुदानसँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (झन्डै १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । यसमा अमेरिकाबाट ५५ करोड अमेरिकी डलर र नेपाल सरकारले १९ करोड ७० लाख अमेरिकी डलर लगानी गर्ने प्रावधान रहेको छ ।
अमेरिकी दूतावासका अनुसार यो थपिएको स्रोतले नेपालको प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्णता दिन, ऊर्जा प्रणालीलाई थप सुदृढ बनाउन र क्षेत्रीय ऊर्जा व्यापार विस्तार गर्न सहयोग पुर्याउनेछ । दूतावासले जारी गरेको सूचनामा एमसीसीले ऋणरहित, अनुदानमा आधारित सहायतामार्फत नेपाल–अमेरिका साझेदारीलाई अझ मजबुत बनाउने उल्लेख गरिएको छ ।
दूतावासका अनुसार एमसीसी नेपाल सम्झौताले उच्च प्रभाव हुने पूर्वाधार विकासमा केन्द्रित रही नेपालका ऊर्जा तथा प्रसारण लाइन क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।






