काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गुर्खाजलाई १४८ रनको लक्ष्य राखिदिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनायो ।
सुदूरपश्चिमका हर्मीत सिंहले उत्कृष्ट ५३ रन जोडे भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रनको योगदान दिए । बलिङतर्फ काठमाण्डु गुर्खाजका कप्तान करण केसी चम्किए, उनले ४ विकेट हात पारे ।
काठमाण्डु गुर्खाजले यसअघि उद्घाटन खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ । सुदूरपश्चिम रोयल्स भने आज आफ्नो पहिलो खेल खेल्दैछ ।
यसपटकको एनपीएलमा काठमाण्डु गुर्खाज, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २७ गते तय गरिएको छ ।






