काठमाडौं -बञ्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयहरूले पुनः फोहोर विसर्जन रोक्ने घोषणा गरेका छन्। स्थानीयले बुधबारदेखि काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न नदिने बताएका हुन्।
मंगलबार बञ्चरेडाँडा र सिसडोलका स्थानीयले पत्रकार सम्मेलन गर्दै सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएर बारम्बार ढाँटेको आरोप लगाए। उनीहरूको भनाइमा सरकारका मन्त्रीहरूले पटक–पटक आश्वासन दिए पनि व्यवहारमा कुनै प्रगति नभएकाले पुनः आन्दोलन गर्न बाध्य भएको बताए।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सहरी विकासमन्त्रीसमेत रहेका कुलमान घिसिङले १५ दिनभित्र स्थानीयका माग पूरा हुने प्रतिवद्धता जनाएका थिए। उक्त आश्वासनपछि स्थानीयले केही समय फोहोर विसर्जनमा अवरोध हटाएका थिए। तर १५ दिन बितिसक्दा पनि माग सम्बोधन नभएको भन्दै उनीहरूले फोहोर विसर्जन पूर्ण रूपमा रोक्ने निर्णय गरेका हुन्।
स्थानीयहरूले गत कात्तिक १२ गते पनि फोहोर विसर्जन रोक्दै विरोध प्रदर्शन गरेका थिए। सरकारले समस्या समाधानको आश्वासन दिए पनि ठोस कदम नचालेकाले यो कदम चाल्नुपरेको स्थानीयहरूको भनाइ छ।






