काठमाडौं । फागुन २१ को चुनाव नजिकिँदै जाँदा वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता प्रयास तीव्र बन्दै गएको छ। निर्वाचन तयारीको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहसहितको समूहबीच लगातार संवाद भइरहेको छ। ऊर्जामन्त्री कुलमान घिसिङले भने सहमति नजुटेपछि छुट्टै दल दर्ता गरिसकेका छन्।
रास्वपा र कुलमानबीच प्रारम्भिक छलफलका क्रममा कुलमानले पार्टी सभापतिको दाबी गरेको र त्यसमा सहमति नजुटेपछि ‘दुई पक्षीय संवाद’ टुंगिएको थियो। कुलमानले आफ्नै नेतृत्वमा दल चलाउनुपर्ने अडान राखेपछि उनी त्यसपछि ‘उज्यालो नेपाल पार्टी’ दर्ता गर्दै चुनावी यात्रामा अघि बढेका छन्।
यद्यपि कुलमान अलग्गै लागे पनि रास्वपा र बालेन शाहबीचको संवाद भने अझै जारी छ। बालेन रास्वपामा प्रवेश गर्ने सम्भावनासहित छलफल अघि बढेको स्रोतले जनाएको छ। पार्टी एकता, चुनावी सहकार्य र संगठनात्मक भूमिकासहितका मुद्दामा समन्वयका लागि रास्वपाले कार्यदल नै बनाएको छ। स्वर्णिम वाग्ले नेतृत्वको उच्चस्तरीय संवाद समिति र पुकार बम नेतृत्वको अर्को टोली अहिले विभिन्न समूहसँग वार्तामा छ।
कुलमानलाई प्रवेश गराउने विषयमा रास्वपामा सभापति, चुनाव चिह्न, दलको नाम र केन्द्रीय संरचना लगायतका विषयमा सहमति हुन नसकेपछि कुरा टुंगिएको थियो। त्यसपछि कुलमानले पूर्वसचिव अनुप कुमार उपाध्यायलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी घोषणा गरेका हुन्।
तर यसबीच रास्वपा र बालेन पक्षबीच सहकार्यका लागि संवाद थप सक्रिय बनेको छ। स्वर्णिम वाग्ले र बालेन पक्षका निकट व्यक्ति कुमार बेनबीच भएको हालैको भेटमा सहकार्यबारे सकारात्मक चर्चा भएको स्रोत बताउँछ। प्रारम्भिक सहमतिलाई थप मजबुत बनाउँदै अर्को चरणको वार्ता चाँडै हुने अपेक्षा गरिएको छ।
बालेन शाहले सभापति पदको चाहना नराखेको र आफू नेतृत्वको दाबीविना वैकल्पिक शक्ति निर्माणमा जोड दिने मनस्थिति रहेको बताइन्छ। फागुन २१ नजिकिँदै जाँदा वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता सम्भावना अझै बाँकी रहेको देखिएको छ।






