काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीका उम्मेदवारी मनोनयन, दाबी–विरोध, नाम फिर्ता र अन्तिम नामावली प्रकाशनसम्बन्धी म्याद तोकेको हो। प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन माघ ६ गते हुनेछ, जहाँ बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिनेछ। सोही दिन बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक उम्मेदवार सूची प्रकाशित हुने छ।
माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने उजुरी छानबिनपछि माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ। उम्मेदवारी फिर्ता लिनका लागि माघ ९ गते बिहान १० देखि १ बजेदेखि समय दिइएको छ। सोही दिन दिउँसो ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ।
यस्तै समानुपातिकतर्फ निर्वाचन प्रक्रिया मंसिर २० गतेदेखि सुरू हुने आयोगले जनाएको छ। समानुपातिक प्रणालीमा सहभागी हुन राजनीतिक दलहरूले मंसिर २१ देखि २३ गतेभित्र निवेदन दिनुपर्नेछ। मंसिर २४ गते निवेदन दिएको दलहरूको सूची प्रकाशित गरिनेछ। पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्द सूची पेस गर्नुपर्नेछ भने माघ २० गते अन्तिम बन्द सूची सार्वजनिक हुनेछ।







