काठमाडौं – बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरू हुँदैछ। उद्घाटन खेल आज दिउँसो ४ बजे अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच त्रिवि क्रिकेट रंगशालामा हुनेछ। यसपटक पहिलो पटक एनपीएल राति फ्लड लाइटमा समेत खेलिनेछ। आठ टोली सहभागी रहेको प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स समावेश छन्। सबै टोलीमा विदेशीसहितका खेलाडी रहेका छन्।
क्रिकेट संघ (क्यान) का अनुसार ३२ खेलमध्ये २३ खेल राति हुनेछ। लिग चरणको अन्तिम खेल मंसिर २१ गते हुनेछ। अंक तालिकामा शीर्ष दुई टोलीले मंसिर २३ गते पहिलो क्वालिफायर खेल्नेछन् । विजेता सिधै फाइनलमा पुग्नेछ भने तेस्रो र चौथो टोलीबीच मंसिर २४ मा इलिमिनेटर हुनेछ। इलिमिनेटर जित्ने टोलीले मंसिर २५ को दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरका पराजितसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल मंसिर २७ गते शनिबार हुनेछ।
विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो स्थानको टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। क्यानले यस संस्करणबाट ३५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ। क्यानका अनुसार प्रायोजकबाट १५ करोड ३० लाख, टोली शुल्कबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने अपेक्षा छ।
साधारण टिकट ५०० र वीआईपी टिकट १५०० रुपैयाँ तोकिएको छ भने प्लेअफ तथा फाइनलका लागि टिकट दर दोब्बर हुनेछ। सिजन पास १५ हजारमा उपलब्ध हुनेछ। एनपीएल नेपालमा कान्तिपुर म्याक्स एचडी र विदेशमा स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ। नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मानिने एनपीएलले खेल क्षेत्रमा मात्र होइन, अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।






