काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विशेष महाधिवेशनमा जान औपचारिक प्रस्ताव गरेका छन्। उनले आगामी मंसिरभित्र विशेष महाधिवेशन गर्ने र एक वर्षपछि २०८३ मंसिरमा नियमित महाधिवेशन गर्ने विकल्प सुझाएका हुन्।
शर्माका अनुसार, अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरिसकेकाले त्यसलाई बेवास्ता गरेर अघि बढ्ने ठाउँ छैन। पार्टी विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ।
उनका अनुसार, विधानले व्यवस्था गरेको विशेष महाधिवेशनलाई अस्वीकार गर्दै अघि बढे कांग्रेस नै नैतिक संकटमा पर्न सक्छ। ‘जसरी संसद् विघटनलाई अवैधानिक भन्नुहुन्छ, त्यसैगरी विधानले बाध्यकारी बनाएको प्रक्रियालाई अस्वीकार गर्नु कांग्रेसकै लागि चुनौती बन्छ,’ शर्माले बताएका छन्।
देउवासँगको भेटपछि शर्माले आफू निकट नेताहरूसँग भेटघाट गरी जानकारी गराएका छन्। उनले मंसिरभित्र विशेष महाधिवेशन नगर्ने हो भने आफूले महामन्त्री पदबाट राजीनामा दिने चेतावनीसमेत दिएका छन्।
यसैबीच, सभापति देउवाले आजदेखि पार्टीभित्रका विभिन्न पक्षसँग छलफल सुरु गरेका छन्। यस्तै, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि बोलाइएको छ।







