काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनी विशन–ईश्वरी जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर सौरभ शाहका अनुसार मैदानमा राखिएका सबै ६ वटा पोलमा फ्लडलाइट जडान कार्य पूरा भएको हो। शाहका अनुसार अब एउटा पोलमा एमिङ (बत्तीको फोकस मिलाउने) र प्रकाश परीक्षणको काम मात्र बाँकी छ। “भोलिसम्म एमिङ र साँझ परीक्षण सकेर हामी मैदान हस्तान्तरण गर्छौं,” उनले भने, “आज सबै बत्ती बालेर निरन्तर परीक्षण र अन्तिम तयारी भइरहेको छ।”
फ्लडलाइटका लागि प्रत्येक पोलमा ७०–७० वटा लाइट जडानगरि कुल ४२० लाइट सेटअप गरिएको छ। प्रकाश कहाँ पर्छ भन्ने निर्धारणका लागि मैदानभर स–साना झन्डा राखेर एमिङको काम भइरहेको कम्पनीले जनाएको छ। समग्र प्रगति ९५ प्रतिशतभन्दा बढी भइसकेको र अब करिब पाँच प्रतिशत मात्र बाँकी रहेको शाहले बताए। यस परियोजनामा भारतबाट ल्याइएका कामदारसहित करिब डेढ सयभन्दा बढी जनशक्ति सिफ्टअनुसार खटिएका थिए। शुक्रबार एकैदिन १० प्रतिशत काम सम्पन्न गरिएको कम्पनीको दाबी छ।
क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका ३२ मध्ये २३ खेल फ्लडलाइटमा खेलाउने तालिका सार्वजनिक गरिसकेको छ। मंसिर १ देखि सुरू हुने एनपीएल यसपटक फ्लडलाइटमा आयोजना हुने नेपालकै पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हुने सम्भावना छ। त्रिवि क्रिकेट मैदान क्यानले त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर सञ्चालन गर्दै आएको हो, जहाँ यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू आयोजना भइसकेका छन्।







