काठमाडौं – जेन–जेड आन्दोलनको प्रभावमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय अन्तरिम मन्त्रिपरिषद्का सात जनाले सम्पत्ति विवरण बुझाइसकेका छन् भने तीन मन्त्रीले अझै बुझाएका छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सम्पत्ति विवरण बुझाउने क्रम जारी रहे पनि पहिलो, दोस्रो र तेस्रो चरणमा नियुक्त भएका केही मन्त्रीहरूबाट विवरण प्राप्त हुन बाँकी छ।
कार्कीले ३० भदौमा पहिलो चरणमा तीन मन्त्री नियुक्त गरेकी थिइन्—अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल। यीमध्ये खनाल र अर्यालले सम्पत्ति विवरण बुझाइसके पनि घिसिङले अझै बुझाएका छैनन्। यो टोली बनेको ६१ दिन बितिसकेको छ।
दोस्रो चरणमा ६ असोजमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका अनिलकुमार सिन्हा, शिक्षा मन्त्री महावीर पुन, कृषि मन्त्री मदनप्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल नियुक्त भएका थिए। ५४ दिन भइसकेको यो समूहमध्ये सञ्चारमन्त्री खरेलले मात्रै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन्।
तेस्रो चरणमा ९ कात्तिकमा स्वास्थ्य मन्त्री सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता मन्त्रिपरिषद्मा प्रवेश गरेका थिए। यीमध्ये गुप्ताले विवरण बुझाइसके पनि स्वास्थ्य मन्त्री शर्माले अझै बुझाएकी छैनन्। सहसचिव हेमराज अर्यालका अनुसार बाँकी रहेका मन्त्रीहरूबाट सम्पत्ति विवरण प्राप्त गर्ने प्रक्रिया निरन्तर अघि बढिरहेको छ।






