काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी महाधिवेशनपछि नेपाली कांग्रेस नयाँ स्वरूपमा प्रस्तुत हुने दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै उनले नयाँ पुस्ताको अपेक्षाअनुसार संगठनले आफूलाई रूपान्तरित गर्नुपर्ने आवश्यकता औंल्याए।
नियमित महाधिवेशन नगरी निर्वाचनमा जाने तयारी कमजोरी स्वीकार नगरी जनमत माग्न जत्तिकै जोखिमपूर्ण हुने उनको भनाइ थियो। कांग्रेस अन्य दलजस्तो उत्तेजना फैलाउने होइन, परिस्थिति सम्हाल्ने चरित्र भएको भन्दै थापाले अब मंसिर २७ गते विशेष महाधिवेशन अपरिहार्य भएको बताए।
उनका अनुसार सदस्यता विवादका कारण नियमित अधिवेशन असम्भव भएकाले अब विशेष महाधिवेशनमार्फत नयाँ यात्राको शुरुवात हुनेछ। साथै, गत भदौ २३ को घटनामा कांग्रेस पनि सत्ता साझेदार रहेकोले आफ्नो भागमा पर्ने जिम्मेवारी स्वीकार गर्न तयार रहेको उनले स्पष्ट पारे।






