काठमाडौं – नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट दर सार्वजनिक गरेको छ। क्यानले जारी गरेको विज्ञप्तिअनुसार मंसिर १ देखि २७ गतेसम्म किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका सबै खेलका लागि भिन्न–भिन्न दर तोकिएको छ।
उद्घाटन समारोहसहित पहिलो दिन (शनिवार) को खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र भीआईपी टिकट १,५०० रुपैयाँ राखिएको छ। समूह चरणका अन्य खेलहरूमा पनि साधारण ५०० नै रहनेछ भने भीआईपी टिकट १,००० रुपैयाँ तोकिएको छ।
त्यस्तै, प्लेअफ र फाइनल खेलका लागि साधारण टिकट १,००० र भीआईपी टिकट २,००० रुपैयाँ लाग्ने क्यानले जनाएको छ। सिजनभर सबै खेल हेर्न सकिने ‘सिजन पास’ १५,००० रुपैयाँमा उपलब्ध हुनेछ।
टिकट बिक्री ‘खल्ती’ र ‘आईएमई पे’ एपमार्फत अनलाइन रूपमा गर्ने व्यवस्था गरिएको क्यानको विज्ञप्तिमा उल्लेख छ।








