गगन थापाको प्रस्ताव: मंसिर २७ गते विशेष महाधिवेशन गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आगामी मंसिर २७ गते गर्ने प्रस्ताव गरेका छन्।

बिहीबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले सो मिति प्रस्ताव गरेका हुन्। नियमित महाधिवेशनको अध्याय समाप्त भइसकेको बताउँदै उनले अब विशेष महाधिवेशनमार्फत पार्टीलाई नयाँ दिशातर्फ लैजानुपर्नेमा जोड दिए।

महामन्त्री थापाले भने, “मैले नियमित अधिवेशन गर्न सकिन्छ भने तपाईंहरू सबैले सदस्यताको कारण देखाएर पन्छिनुभयो, त्यसैले अब नियमित अधिवेशनको अध्याय बन्द भयो। अब मंसिर २७ गते विशेष अधिवेशन हुन्छ।”

उनले उक्त अधिवेशनबाट नेपाली कांग्रेस नयाँ रूप र धारका साथ अघि बढ्ने विश्वास पनि व्यक्त गरे। “नेपाली कांग्रेस नयाँ भएर आउँछ, नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ,” उनले भने।

थापाले पार्टीले गल्ती र कमजोरी अस्वीकार गर्दै जनताबाट नयाँ जनादेश लिनुपर्ने बताए। “अधिवेशन नगरी जानु भनेको गल्ती कमजोरी अस्वीकार गर्दै जनादेश माग्न जानु हो,” उनले भने।

उनका अनुसार कांग्रेसको चरित्र अन्य पार्टीझैं उत्तेजना फैलाउने होइन, बरु संयम र जिम्मेवारीका साथ जनतालाई सम्हाल्ने हो।

भदौ २३ को घटना हुँदा कांग्रेस पनि सत्तामा रहेको स्मरण गराउँदै उनले त्यस घटनामा आफ्नै भागमा पर्ने जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्