काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पदोन्नति हुनुभएका दान बहादुर कार्की बिहीबार दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ।
गृह मन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहबीच गृहसचिव रामेश्वर दंगालले प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो।
समारोहमा बोल्दै गृहसचिव दंगालले नेपाल सरकारले विधि र पद्धतिको आधारमा प्रहरी संगठनको नेतृत्वका लागि कार्कीलाई जिम्मेवारी सुम्पेको उल्लेख गर्दै उहाँको कार्यकालमा मुलुकमा शान्ति–सुरक्षा र सुशासन प्रवर्द्धनमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो।
उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु, विकृति–विसंगति अन्त्य गरी सुशासन कायम गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै, उक्त कार्यमा नेपाल प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। दंगालले गृह मन्त्रालय सधैं प्रहरी संगठनसँग नीतिगत सुधार, योजना र समन्वयमा सहयोग गर्न तयार रहने प्रतिवद्धता पनि व्यक्त गरे।
कार्कीको प्रतिबद्धता : पारदर्शी र जवाफदेही नेतृत्व
प्रहरी महानिरीक्षक कार्कीले नेपाल सरकारले आफ्नो करिब २८ वर्षको सेवा, कर्तव्यपरायणता र इमान्दारिताको कदरस्वरूप उच्च जिम्मेवारी सुम्पेको भन्दै सरकारप्रति आभार प्रकट गर्नुभयो।
“म प्राप्त जिम्मेवारीलाई पेशागत अनुशासन, पारदर्शिता र जवाफदेहितासहित निर्वाह गर्नेछु,” कार्कीले भने, “नेपाल प्रहरी नागरिक सेवाभावको पूर्ण प्रत्याभूति हुने गरी प्रभावकारी रूपमा अघि बढ्नेछ।”
कार्कीले देशमा सुशासन कायम गर्नु, आगामी निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनु र विद्यमान सुरक्षा चुनौतीहरू समाधान गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले संगठनभित्र मनोबल सुदृढीकरण र सहकार्यको भावनासहित कार्यसम्पादन गर्ने प्रतिज्ञा पनि गर्नुभयो।
समारोहमा उच्च अधिकारीहरूको सहभागिता
दर्ज्यानी चिन्ह प्रदान समारोहमा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो।
दर्ज्यानी चिन्ह प्राप्त गरेपछि नवनियुक्त महानिरीक्षक कार्कीले बिहीबार नै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभयो। प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा उहाँलाई उच्च प्रहरी अधिकारी र जवानहरूले स्वागत गरे।
कार्यभार ग्रहणपछि उहाँले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी अमर प्रहरीप्रति श्रद्धाञ्जली समेत व्यक्त गर्नुभयो।
प्रहरी महानिरीक्षक कार्कीको संक्षिप्त जीवनी
गुल्मी जिल्लाको साविक घमिर–५ (हाल मालिका गाउँपालिका–७) निवासी कार्कीको जन्म वि.सं. २०२९ साउन १५ गते पिता कृष्ण बहादुर कार्की र माता चन्द्रकला कार्कीको कोखमा भएको हो। उहाँकी श्रीमती नविना कार्की र दुई छोरीहरू छन्।
कार्कीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट सेवा प्रारम्भ गर्नुभएको थियो। करियरको क्रममा उहाँ क्रमशः प्रहरी नायव उपरीक्षक, प्रहरी उपरीक्षक, वरिष्ठ उपरीक्षक, नायव महानिरीक्षक र अतिरिक्त महानिरीक्षक हुँदै ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको हो।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २२ वटा सुरक्षा, नेतृत्व र व्यवस्थापनसम्बन्धी तालिमहरू प्राप्त गर्नुभएको छ। उहाँ प्रबल जनसेवा श्री र संयुक्त राष्ट्रसंघ पदकलगायतका विभूषणले सम्मानित हुनुका साथै उत्कृष्ट सेवाकालका लागि नगद पुरस्कार र प्रशंसापत्र प्राप्त गरिसक्नुभएको छ।
सेवा यात्रा
कार्कीले आफ्नो करियरका क्रममा सशस्त्र प्रहरी गण नेपालगंज, जिल्ला प्रहरी कार्यालय रुकुम, तनहुँ, सप्तरी, कास्की, कपिलवस्तु, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयलगायतका महत्वपूर्ण जिम्मेवारी वहन गर्नुभएको छ।
अतिरिक्त महानिरीक्षकका रूपमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व गर्नुभएको थियो।






