त्रिविको २५ सय रोपनी जग्गा अतिक्रमणबारे अख्तियारले छानबिन अघि बढायो

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)को करिब २५ सय रोपनी जग्गा अतिक्रमण र हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक रूपमा छानबिन प्रक्रिया अघि बढाएको छ। सरकारले गठन गरेको पूर्वसहसचिव महेन्द्रकुमार थापा संयोजक समितिले तयार पारेको “त्रिवि जग्गा तथा अचल सम्पत्ति खोजबिन प्रतिवेदन–२०८१” ले ठूलो मात्रामा जग्गा अतिक्रमण भएको देखाउँदै कारबाहीका लागि सिफारिस गरेको थियो।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेल का अनुसार शिक्षा मन्त्रालयबाट प्रतिवेदन झिकाएर अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ। “छानबिनका लागि थप प्रमाण पनि मागिएको छ, छानबिन थालेर कारबाही अघि बढाइनेछ,” उनले बताए। समितिका अनुसार कीर्तिपुर परिसरमा मात्रै १ हजार ८ सय ४३ रोपनी, र बाहिरी क्षेत्रमा ६ सय ९६ रोपनी सहित जम्मा २ हजार ५ सय ३९ रोपनी जग्गा अतिक्रमणमा परेको छ। ल्याब स्कुल, राधास्वामी सत्संग व्यास, नेपाल प्राध्यापक संघ, कर्मचारी संघ, बैंक, प्रहरी वृत्त, नेपाल क्रिकेट संघ, र खानेपानी बोर्डलगायत संस्थाले त्रिविको जग्गा प्रयोग वा कब्जा गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

प्रधानमन्त्री सुशीला कार्की ले मंगलबार सम्बन्धित निकायका अधिकारीसँग छलफल गर्दै प्रतिवेदन कार्यान्वयन र जग्गा फिर्ता प्रक्रियाबारे प्रगति जानकारी लिएकी थिइन्। उनले “दोषी जो–जो छन्, सबैलाई कानुनी दायरामा ल्याउन” निर्देशन दिएकी थिइन्। समितिले ल्याब स्कुलले १०८ रोपनी जग्गा किर्ते कागजातमार्फत कब्जा गरेको भन्दै अख्तियार र सीआईबीबाट थप अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरेको छ। प्रतिवेदनमा त्रिविका पदाधिकारी, कर्मचारी र राजनीतिक नेतृत्वको लापरबाही र मिलेमतोका कारण जग्गा संरक्षण हुन नसकेको निष्कर्ष निकालिएको छ। विश्वविद्यालयले अब सरकारको सहयोगमा अतिक्रमित जग्गा फिर्ता ल्याउने र कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्