काठमाडौं – नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) का रूपमा दानबहादुर कार्कीले आजदेखि औपचारिक रूपमा कमाण्ड सम्हालेका छन्। अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा भएपछि २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएपछि कार्कीले नेपाल प्रहरीको सर्वोच्च पद सम्हालेका हुन्। गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको आईजीपीमा नियुक्त गरेको थियो। आज बिहान गृहमन्त्रालयमा दर्ज्यानी चिह्न लगाइसकेपछि उनले प्रहरी प्रधान कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
२४ भदौमा जेनजी आन्दोलनको समयमा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए, जसमा उनले सुरक्षा संयोजन प्रभावकारी बनाएको बताइन्छ। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभागका प्रमुखका रूपमा कार्यरत थिए। डीआईजीको रूपमा कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए भने एसएसपीको हैसियतमा काठमाडौं प्रहरी परिसरमा कार्यरत रहँदा चर्चित भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको जिम्मेवारी पनि सम्हालेका थिए।
काठमाडौंदेखि उपत्यका र प्रदेश तहसम्मका जिम्मेवारीका क्रममा कार्की इमानदार र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनी कुनै पनि ठूलो आर्थिक विवादमा नजोडिएको र संगठनभित्र पेशागत अनुशासन र कार्यकुशलताका लागि चिनिएका अधिकारी मानिन्छन्। विदेशमा विभिन्न सुरक्षा तथा नेतृत्व सम्बन्धी तालिम लिइसकेका कार्की नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत भइसकेका छन्। उनको नेतृत्वमा अब नेपाल प्रहरीको कार्यशैलीलाई अझ आधुनिक, पारदर्शी र नतिजामुखी बनाउन प्रयास गरिने अपेक्षा गरिएको छ।






