काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा आएको कमी र सञ्चालन अवस्थाअनुसार करार तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीको सेवा अन्त्य गरेको छ। निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार, आन्तरिक स्टेसनहरूमा सीमित उडान भइरहेका र केही स्थानमा सेवा सञ्चालनमा नभएका कारण आवश्यकतानुसार कर्मचारी संख्या घटाउने नीतिअनुसार निर्णय गरिएको हो।
‘निगमले करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीको सेवा आजकै मितिदेखि अन्त्य गरेको हो,’ प्रवक्ता घिमिरेले बताए। उनका अनुसार यो निर्णय निगमलाई चुस्त र दुरुस्त रूपमा सञ्चालन गर्दै बदलिँदो परिस्थिति र आर्थिक दायित्वलाई सन्तुलनमा ल्याउने उद्देश्यले गरिएको हो। हाल निगममा १,४७६ जना कर्मचारी कार्यरत छन्। तीमध्ये ३०८ जना करारमा, २७७ जना मासिक ज्यालादारीमा र ८९१ जना स्थायी रूपमा कार्यरत रहेको निगमले जनाएको छ।
निगमले हालको निर्णयलाई आर्थिक भार कम गर्दै कार्यक्षमता अभिवृद्धि गर्ने दीर्घकालीन योजनाको पहिलो चरणका रूपमा लिएको बताएको छ। साथै, संगठनात्मक संरचना सुदृढ पार्दै कार्यसम्पादन सुधारका थप कदमहरू आगामी दिनमा अघि बढाइने जनाएको छ।






