जेनजी आन्दोलनका क्रममा भएको दमनको जिम्मेवारी लिन्न: पूर्वगृहमन्त्री रमेश लेखक

काठमाडौँ – निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा आफूलाई कुनै जानकारी नदिइएको बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बुधबार उनले सरकारका तर्फबाट ना त लिखित रूपमा, ना त मौखिक रूपमा कुनै जानकारी प्राप्त नभएको बताए।

‘मलाई आजसम्म सरकारको वा सरकारको कुनै पनि निकायले लिखित रूपमा या मौखिक रूपमा स्थानहद गरेको या पासपोर्ट रोक्का गरेको जानकारी दिएको छैन, सूचना दिएको छैन,’ लेखकले बैठकमा भने, ‘कुन संविधान, कुन कानुनको कुन प्रावधानअनुसार मलाई स्थानहद गरियो भन्ने कुरा पनि मलाई थाहा छैन।’ लेखकका अनुसार करिब दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका व्यक्तिहरूलाई स्थानहद तोकिएको र राहदानी रोक्का गरिएको निर्णयबारे उनले माध्यमबाट मात्रै जानकारी पाएका हुन्।

‘सरकारले निर्णय गरेछ रे  निवर्तमान प्रधानमन्त्री र म लगायतलाई स्थानहद गरेको र पासपोर्ट रोक्का गरेको,’ उनले भने, ‘तर यो कुरा म समाचारबाटमात्रै सुनेको हुँ, सरकार वा सम्बन्धित निकायबाट प्रत्यक्ष जानकारी आएको छैन।’ यस क्रममा लेखकले जेनजी आन्दोलनका क्रममा भएको राज्यपक्षीय दमनको जिम्मेवारी अस्वीकार गरेका छन्। उनले बैठकमा उक्त घटनाबारे ब्रिफिङ दिँदै, आफूले सुरक्षा संयन्त्रलाई बारम्बार सावधान रहन निर्देशन दिएको दाबी गरे। ‘प्रधानमन्त्री वा मन्त्रीले गोली चलाउने आदेश दिने विषय नै होइन,’ उनले स्पष्ट पारे, ‘मैले क्याजुलिटी नहोस् भनेर २२ गते साँझ पनि मिटिङमा भनेको थिएँ। दोस्रो दिन बिहान पनि गृहसचिव र दुवै प्रहरी प्रमुखहरूलाई भनेको थिएँ  क्याजुलिटी कुनै हालतमा हुनुहुँदैन।’

लेखकले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षकले पनि यसै आशयको अभिव्यक्ति सञ्चारमाध्यममा दिइसकेको उल्लेख गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्