काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतहरूले राजीनामा दिन थालेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म सरकारले फिर्ता बोलाएका ११ जना राजदूतमध्ये पाँच जनाले राजीनामा दिइसकेका छन् भने बाँकी छ जनाले कानुनी परामर्शपछि राजीनामा दिने तयारी गरिरहेका छन् ।
राजीनामा दिनेहरूमध्ये अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, कतारका रमेशचन्द्र पौडेल, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना र बेलायतका चन्द्रकुमार घिमिरे रहेका छन् । उनीहरूले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष राजीनामा बुझाएका हुन् ।
तर उनीहरूको राजीनामा स्वीकृत भइसकेको छैन । मन्त्रालयका एक अधिकारीका अनुसार राजीनामाबारे अध्ययन भइरहेको छ । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि मन्त्रालयले ती राजदूतहरूलाई मन्त्रालयमै कामकाज गर्न बोलाएको थियो । तर उनीहरूले त्यसपछि राजीनामा दिने निर्णय गरेका हुन् ।
असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २० गतेसम्म नेपाल आइपुग्ने गरी ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको थियो । त्यसको भोलिपल्ट, कात्तिक १७ गते, परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएर ती राजदूतहरूलाई मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो ।
फिर्ता भइसकेका राजदूतहरूको ठाउँमा परराष्ट्र मन्त्रालयकै अधिकारीहरूलाई कार्यवाहक रूपमा जिम्मेवारी दिइएको छ । अमेरिकामा सहसचिव शरदराज आरण, चीनमा सहसचिव रोशन खनाल, जर्मनीमा सागर फुयाल, जापानमा हरिहरकान्त पौडेल, मलेसियामा मुदिता बज्राचार्य, कतारमा कुमार राई, बेलायतमा विपिन घिमिरे, साउदीमा सिर्जना अधिकारी, स्पेनमा पूरक अधिकारी, इजरायलमा कुमारबहादुर श्रेष्ठ र रुसमा कसम पोखरेल कार्यवाहक राजदूतका रूपमा कार्यरत छन् ।
स्रोतका अनुसार बाँकी छ जना राजदूतहरूले पनि छिट्टै औपचारिक रूपमा राजीनामा दिने तयारी गरिरहेका छन् ।






