अर्घाखाँची – सडक मर्मत तथा स्तरोन्नतिको काम तीव्र बनाउन गोरुसिङ्गे–सन्धिखर्क सडक आजदेखि दैनिक ६ घण्टा बन्द गरिने भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत तथा स्तरोन्नतिको कार्य सुरु हुने भएपछि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात आवागमन रोक्न लागिएको हो।
शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाका अनुसार सो खण्डमा पहिरोका कारण बारम्बार समस्या देखिँदै आएको र गुणस्तरीय स्तरोन्नति आवश्यक रहेकोले यातायात बन्द गरेर काम अघि बढाइने तयारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा हिजो बसेको सर्वपक्षीय बैठकले मर्मत कार्यलाई सहज बनाउन दैनिक ६ घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार आजदेखि आउँदो मङ्सिर १० गतेसम्म सो समयावधिमा सडक पूर्णरूपमा बन्द रहनेछ। बिहान र साँझ भने सवारी आवागमन सहज हुने बताइएको छ। सडक डिभिजन कार्यालयले यात्रु र चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा तोकिएको समयमै सडक प्रयोग नगर्न आग्रह गरेको छ।








