काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर रिटमा आजका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। मधेस प्रदेशका ७४ जना सांसदहरूले मुख्यमन्त्री यादवको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले संविधानको धारा १६८ को उपधारा (३) अनुसार गठन भएको सरकार असंवैधानिक भएको दाबी गर्दै उक्त नियुक्ति स्थगन गरी पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन्।
यसअघि, सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न आदेश दिइसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सोमबार दायर गरिएको रकीप्रसाद साहको रिटमा यस्तो आदेश जारी गरेको हो। यो आदेश सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम जारी गरिएको हो। साथै, रिटको संवेदनशीलता र सार्वजनिक महत्वलाई दृष्टिगत गर्दै अदालतले नियम ७३ बमोजिम यो मुद्दालाई अग्राधिकारका साथ छिटो टुंग्याउन निर्देशन दिएको छ।
अदालतले मंसिर ११ गते अन्तिम सुनुवाइका लागि मिति तोकेको आदेशमा उल्लेख गरिएको छ।






