काठमाडौँ- किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। किराँत धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रमका साथ जयन्ती मनाइँदैछ।
किराँत समुदायको घना बसोबास रहेका पूर्वी पहाडी जिल्लाहरू — ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम र झापालगायत स्थानमा विविध सांस्कृतिक र धार्मिक कार्यक्रम आयोजना गरी फाल्गुनन्द जयन्ती मनाउने परम्परा रहिआएको छ। यसैगरी राजधानी काठमाडौँमा पनि किराँत समुदायले विशेष कार्यक्रमका साथ महागुरुको जन्मजयन्ती मनाउँदैछ, किराँत ज्योतिष सङ्घले जनाएको छ।
महागुरु फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलाम जिल्लाको सामान्य परिवारमा भएको थियो। उहाँले किराँत समाजको एकता, नैतिकता, शिक्षाको प्रवर्द्धन र अन्धविश्वासको अन्त्यका लागि उल्लेखनीय पहल गर्नुभएको थियो। किराँत समाज सुधारका लागि उहाँले नीति निर्माणसमेत गर्नुभएको थियो।
फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले उहाँलाई २०६६ साल मङ्सिर १६ गते ‘राष्ट्रिय विभूति’ को मान उपाधि प्रदान गरेको थियो। समाज सुधारक, संस्कृतिप्रेमी र आध्यात्मिक चिन्तकका रूपमा चिनिनुभएका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो। फाल्गुनन्द जयन्तीको अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। विभिन्न संघ–संस्थाहरूले आजका दिन उहाँको जीवन दर्शन, विचार र योगदानबारे चर्चा–परिचर्चा तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।






