काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कार्कीलाई औपचारिक रूपमा आईजीपीमा नियुक्त गरिएको जानकारी दिनुभयो ।
हालसम्म कार्की काठमाण्डु उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा प्रमुखका रूपमा कार्यरत थिए । आगामी कात्तिक २६ गतेबाट वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारलाई नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको थियो ।
एआईजी कार्कीले हालैको जेनजी आन्दोलन (२४ भदौ) का क्रममा उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेका थिए । त्यसअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा साधन विभागका प्रमुखका रूपमा कार्यरत थिए । डीआईजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने एसएसपीको हैसियतमा काठमाडौं जिल्ला प्रहरी परिसरमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।सरकारको यो निर्णयसँगै दानबहादुर कार्की अब नेपाल प्रहरीको नयाँ प्रमुख आईजीपीका रूपमा कार्यभार सम्हाल्ने छन् ।






